पोखरामा प्रथम ‘मेयर सम्मेलन’
पोखरा, साउन १४ : पोखरामा दुई दिने प्रथम महानगरका ‘मेयर सम्मेलन’ शुरु भएको छ।पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन,...
पोखरा, साउन १४ : पोखरामा दुई दिने प्रथम महानगरका ‘मेयर सम्मेलन’ शुरु भएको छ।
पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ।
महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।
महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ।
'गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ। सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ,' उनले भने।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रस्तुति राखेका छन्। यसैगरी महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरेका छन्।
सम्मेलन पोखरा घोषणा पत्र जारीसँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गरेर समापन हुने पोखरा महानगरले जनाएको छ। (रासस)












