दमौली अस्पतालमा सातजनामा डेङ्गु भेटियो
दमाैली, साउन १३ : सदरमुकामस्थित दमौली अस्पतालमा सातजनामा डेङ्गुको लक्षण भेटिएको छ।अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्। पछिल्लो...
दमाैली, साउन १३ : सदरमुकामस्थित दमौली अस्पतालमा सातजनामा डेङ्गुको लक्षण भेटिएको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन्। पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताए।
उनका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी विभिन्न समस्याले उपचारका लागि आउने गरेका छन्। अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन्।
बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन डेङ्गुका बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो। एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डा रानाले बताए।
अस्पतालमा व्यास नगरपालिका–१०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन्। त्यसमध्ये महिलाको सङ्ख्या बढी रहेको अस्पतालले जनाएको छ।
दमौलीमा एकवर्ष अघि फाट्टफुट्ट मात्रमा डेङुगुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेब मदन गौतमले बताए।
डेङ्गु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउन र सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उनले बताए।
डेङङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानका लागि चिकित्सकले सुझाव दिएका छन्।












