Kathmandu Press

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ। रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो...
लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङ, साउन १३ : यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ। रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो। 
 
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन्। उनले भने, 'चिसो ठाउँ, मकै बारीभित्र र मकै टिपी भित्र्याइ सकेका बारीमा उपल्लो भेगका किसान कोदो रोपिरहेका छन्।' जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। 

कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपिसकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले कोदो रोप्नलाई समयमै किसानले समय पाएका छन्। दोर्दी वडा नं ५ पाचोककी सीता गुरुङले भने, 'धान रोपेर सकायौँ, अहिले कोदो रोप्न थालेका छौँ।' यहाँका बासिन्दाले असारमै धान रोपिसकेर अहिले कोदो रोप्न थालेको उनको भनाइ छ। 

त्यस्तै पाचोकस्थित सिमरुङगाउँका ४१ वर्षीय कुमार तामाङले साउनको पहिलो हप्ताबाट कोदो रोप्न सुरु गरेको बताउनुभयो। खेतीपातीको समय भएकाले रोपाइँ सकिना साथ कोदो रोप्न व्यस्त भइरहेको उनको भनाइ छ। यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन्।  

मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङ पनि केही दिनअघिबाट कोदो रोप्न बारीमा व्यस्त हुँदै आएकी छन्। 'धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको छ', उनले भनिन्। 

बेँसीसहर नगरपालिका–२ चिसोपानीका हिरासिंह गुरुङले बर्सेनि करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बताए। 

जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ। जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ।

जिल्लामा सात हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ। करिब छ हजार उक सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, साउन १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्