Kathmandu Press

अधिकारकर्मी तथा नेता दुर्गा सोबलाई मातृशोक

अधिकारकर्मी तथा नेता दुर्गा सोबलाई मातृशोक

काठमाडौं, साउन १३ : नेपाली दलित आन्दोलनकी अग्रणी नेता, दलित महिला संघकी संस्थापक अध्यक्ष, राष्ट्रिय दलित आयोगकी संस्थापक सदस्यसचिव तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय नेता दुर्गा सोबलाई मातृशोक परेको छ । उनकी आमा सत्यदेवी सोबको ८७ वर्षको उमेरमा हिजो (१२ साउन) ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो। 

सत्यदेवीको पार्थिव शरीरलाई हिजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । अन्त्यष्टि कार्यक्रममा आफन्तसँगै पूर्वपर्यटन मन्त्री तथा नेपाल समाजवादीकी नेता हिसिला यमी, निवर्तमान कृषिमन्त्री महेन्द्रराय यादव लगायतको उपस्थिति रहेको थियो ।

Hardik ivf

सुदूर पश्चिमको डोटीमा जन्मेकी सत्यदेवीको विवाह १२ वर्षको उमेरमा डोटीमै भएको थियो । श्रीमानले दोस्रो विवाह गरेकाले उनले दुःखसुख गरी सन्तानलाई शिक्षादिक्षा दिइन्। डोटीजस्तो विकट ठाउँमा अनेक प्रकारका विभेद, कष्ट तथा अभाव सहेर पनि छोराछोरीलाई शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेकी हुँदा उनलाई जनउत्थान प्रतिष्ठानले २०६२ सालमा १० हजार रुपैयाँ राशिको भीममाया जनउत्थान पुरस्कार प्रदान गरेको थियो। 

सो पुरस्कार रकममा परिवारबाट त्यत्तिकै रकम थप गरी महिला शिक्षामा प्रयोग गर्नका लागि पुरस्कार प्रदान गर्ने संस्थालाई नै दिइएको थियो। 

नेपालको दलित महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउन सफल दुर्गा सोबलाई पालनपोषण र शिक्षादिक्षा दिने आमा भएका नाताले सत्यदेवीको चर्चा सविना कोइराला प्रस्तोता रहेको न्यूज २४ टेलिभिजनको ‘आमा’ कार्यक्रममा समेत भएको थियो।  
 

प्रकाशित मिति: १३:४८ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्