दोब्बर फल्यो चैते धान
पोखरा, साउन १२ : पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ। चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत...
पोखरा, साउन १२ : पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ। चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात/आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।
यसवर्ष बाली विकास कार्यक्रम९धान उत्पादन प्रवद्र्धन कार्यक्रम० अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो। त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट ९५० प्रतिशत सहभागिता० गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो।
त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिए। महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो।
त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो। लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ।
यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिए। महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन (आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते–५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ। त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ। अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते–५ मनपराएको उहाँले बताए।












