Kathmandu Press

राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

नेपालगञ्ज, साउन १२ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९...
राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

नेपालगञ्ज, साउन १२ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ।

वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए। उनका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्तानालाले खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएको छ । बाढीले कटान र डुबान गरेका कारण यी गाउँमा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत हुने गरेको छ।

Hardik ivf

खोलामा डाइभर्सन र तटबन्ध हुन नसक्दा सयौँ बिघा खेतीयोग्य जमिन कटान हुन पुगेको छ । वडा तथा गाउँपालिकास्तरको बजेटबाट डुबान तथा कटान रोकथामको प्रयास हुन नसक्ने भएकाले प्रदेश र सङ्घीय सरकारसँग खोला डाइभर्सन र तटबन्धका लागि बजेट माग गरिएको वडाध्यक्ष थारूले बताए। 

प्रदेश सरकारबाट रु २५ लाख बजेट विनियोजन भए पनि खोलाको कटान रोकथामका लागि उक्त बजेट अपर्याप्त हुने भएकाले थप बजेट विनियोजनका लागि आवश्यक पहल गरिएको उनको भनाइ छ। राप्तीसोनारीकै वडा नं ८ मा पर्ने नयाँगाउँ क्षेत्र रिम्नाखोलाको बाढीका कारण कटान र डुबानमा पर्दै आएको छ । रिम्नाखोलाका कारण नयागाउँका ४२ घरपरिवारको करिब ७० बिघा खेतीयोग्य जमिन कटान भएको स्थानीय अगुवा यमराज थारूले जानकारी दिए। 

वडा नं ८ मा पर्ने झिझरी र परुवाखोलाले पनि खेतीयोग्य जमिन कटान तथा डुबान गर्दै आएका छन् । जनताको खेतीयोग्य जमिन कटान रोकथाम तथा बस्ती डुबानबाट जोगाउन आवश्यक पहल गरिए पनि बजेट अभावले बर्सेनि समस्या बल्झिँदै आएको राप्तीसोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए। उनले बस्तीमा डुबान र खेतीयोग्य जमिनको कटान रोकथामका लागि सिक्टा सिँचाइ आयोजना र सडक डिभिजनसँग समन्वय गरिएको जानकारी दिए। 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्