Kathmandu Press

बैतडीमा दुई हजार मतदाता थपिए

बैतडी, साउन १२ : बैतडीमा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक...
बैतडीमा दुई हजार मतदाता थपिए
फाइल तस्बिर

बैतडी, साउन १२ : बैतडीमा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन्। 

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८  हजार ६ सय ६ मतदाता थिए।  

Hardik ivf

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर गत असार १ गतेदेखि बैतडीमा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य जारी छ । जिल्ला प्रशासन, जिल्ला निर्वाचन र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य भइरहेको  जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले जानकारी दिए। 

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ। 

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएकाको हकमा बसाइँसराईको प्रमाणपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ । जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । 

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्ने कार्य पनि भइरहेको छ। मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालयमा भइरहेको छ। 

गत असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आगामी  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ।

प्रकाशित मिति: १०:४४ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्