Kathmandu Press

आँखा पाक्ने सरुवा रोग बढ्यो

आँखा पाक्ने सरुवा रोग बढ्यो

भरतपुर, साउन ११ : साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो। दुई वटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको थियो। विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन थाल्यो। दुवै आँखा रातो भए पछि घरबाट बाहिर निस्कन समस्या पर्‍यो।

अचेल सुवासको मात्रै होइन, धेरैमा यो समस्या देखिएको छ। मध्यपुरथिमि नगरपालिका–१ स्थित विपी नेत्र प्रतिष्ठानमा आँखा पाक्ने रोगको समस्या लिएर दैनिक सयभन्दा बढी बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका आँखा रोग विशेषत्र डा अर्जुन श्रेष्ठले केहीदिन यता आँखा पाक्ने रोग निकै बढेको बताए। उनले भने, 'आँखा पाक्ने रोगको प्रकोप बढेको छ, दैनिक सयभन्दा बढी बिरामी त यही रोग लिएर आउँछन्, फेरि यो सरुवा रोग हो, यसबाट सचेत हुनै पर्छ।'

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा बिरामीको चाप बढेको छ।

भक्तपुरमा आँखा क्लिनिक सञ्चालन गर्दै आउनु भएका ओम श्रेष्ठले एक साता यता आँखा पाक्ने रोगको बिरामी बढेको बताउछन। दैनिक ४० जनाभन्दा बढी यो रोग लिएर उपचारका लागि आउने गरेको बताउँदै उनले अस्पतालमा यसको चाप बढेको बताउछन।

नेत्र रोग विशेषज्ञ डा अमृतमान पौडेलले अहिले कुनै लक्षणनै नदेखाइ एक्कासी आँखा पाक्ने रोग लाग्ने गरेको बताए। आज सुत्ने बेलासम्म ठिक भए पनि भोलि पल्ट बिहान उठ्दा आँखा पाकिरहेको, सुन्निरहेको हुने भएकाले परिवारमा पनि छिट्टै सर्न सक्ने उनी बताउछन।

यसबाट बच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए।

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्