Kathmandu Press

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

रुपन्देही, साउन ११ : बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९÷८० का लागि स्वीकृत आर्थिक...
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

रुपन्देही, साउन ११ : बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९÷८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन्। 

उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार रु एक सयदेखि रु ४९ हजार ५०० सम्म कायम गरिएको छ। यस्तै रु पाँच लाखसम्म करयोग्य सम्पत्ति भएमा रु एक सय र रु पाँच करोडदेखि माथि भएमा प्रतिहजारको रु दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ। 

Hardik ivf

यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत रु पाँच सयका दरले रु एक हजार तिर्दै आएकामा चालु आर्थिक वर्षमा रु तीन सयका दरले रु ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखाप्रमुख दामोदर ज्ञवालीले जानकारी दिए। 

यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। 

त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।  

नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिए। 
    
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। 

उनले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व सङ्कलनको प्रक्षेपण गरिएको बताए। यसअघि  ७१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु ५३ करोड सङ्कलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिए। 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्