Kathmandu Press

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ, साउन ११ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन्। उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या...
दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ, साउन ११ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन्। 

उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो। 

Hardik ivf

उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिए। दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्। उनले भने, 'उपचारमा आएका बिरामीमध्ये करिब चालीस प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी रहेका छन्।'

सङ्क्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए। 

उपचारमा संलग्न चिकित्सकले लक्षणका आधारमा बिरामीलाई औषधि लेखिदिने गरेका छन्। मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन्। 

टाइफाइड र निमोनियाका लागि भने एन्टिबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा. ढकालले बताए। कोभिडजस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ। 

त्यसैगरी टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ। बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ।

उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था भने नआएको सो अस्पतालले जनाएको छ। त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ।

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्