मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मोर्टार आक्रमण

बग्दाद, साउन ११ : इराकको उत्तरी प्रान्त निनेभेको राजधानी मोसुलस्थित टर्कीको वाणिज्य दूतावासलाई लक्ष्य गरी मंगलबार राति लगातार ६ पटक भएका मोर्टार आक्रमणमा धेरै घरमा क्षति पुगेको मोसुल प्रहरीले बताएको छ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यही साउन ४ गते इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा टर्कीले गरेको बम आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु हुनाका साथै दर्जनौं घाइते भएपछि मङ्गलबार राति उक्त आक्रमण भएको हो।
टर्कीको सेनाले उक्त आक्रमण गरेको आरोप इराक सरकारले लगाएको छ भने त्यसको अङ्काराले अस्वीकार गरेको छ।
टर्कीको सेनाले इराकको कुर्दिस्तान तथा विशेष गरी कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को मुख्य आधार कान्दिल पर्वतमा बारम्बार स्थल कारबाही, हवाई आक्रमण र बम प्रहार गर्दै आएको छ।
टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेका पिकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।












