Kathmandu Press

जिफन्टको चारवर्षे अभियान : २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

काठमाडाैं, साउन १० : नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी...
जिफन्टको चारवर्षे अभियान : २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

काठमाडाैं, साउन १० : नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

वैदेशिक रोजगारीमा रहेका, सबै प्रकृतिको ज्याला रोजगारी र स्वरोजगारीमा रहेका गरी २० लाख श्रमिकलाई कोषमा जोड्न सकिने जिफन्टको ठहर छ। यसका लागि लक्ष्य २० लाख अभियान सञ्चालन गर्ने जिफन्टको योजना छ।

Hardik ivf

जिफन्टको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको आगामी चार वर्षको कार्यक्रम प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठले स्वास्थ्य बीमाको प्रचार गर्ने, उपचारमा सहयोग गर्ने र प्रिमियम सङ्कलनमा हस्तक्षेप गर्ने योजना पनि बनाएको जानकारी दिए।

जिफन्टले विभिन्न कलेजका विद्यार्थीलाई होटल, चेन रेष्टुराँ र मार्टहरुमा तालिमे (इन्र्टन) का नाममा शुल्क लिएर इन्र्टनशीप गराइने गरेको भन्दै यो अन्यायपूर्ण काम भएकाले त्यसरी काम गर्नेहरुलाई तलब दिलाउने अभियान पनि चलाउने निर्णय गरेको छ। ‘तालिमेलाई तलब’ नामको सो अभियान सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए।

ज्याला रोजगारीलाई मर्यादित बनाउने, श्रम अडिट कार्यान्वयन गर्न दबाब सिर्जना गर्नेलगायत अभियान पनि सञ्चालन गर्ने जिफन्टले जनाएको छ। यसैगरी पालिका तहमा श्रमिक पञ्जीकरणका लागि पनि तीव्रता दिने कार्यक्रम जिफन्टले पारित गरेको छ।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई अन्यायमा पर्न नदिन सीमापारीको समस्या : सङ्गठन र सफलता भन्ने कार्यक्रम पनि जिफन्टले सञ्चालन गर्नेछ। युवा र महिलालाई ट्रेड यूनियन आन्दोलनमा जोड्न पनि अभियान नै सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

यसैबीच जिफन्टको काठमाडौँमा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ। अधिवेशनले उपाध्यक्षहरुमा विदुर कार्की, जनक चौधरी, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु कुमारी थापा मगर र सीता लामालाई चयन गरेको छ।

महासचिवमा लक्ष्मण शर्मा चयन भएका छन। उपमहासचिवमा नरनाथ लुईंटेल र पदेन उपमहासचिवमा कमला तामाङ, सचिवहरुमा हरिबहादुर कार्की, कृष्णबहादुर केसी, स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, बेलीमाया घले, तारानिधि पन्त र पदेन सचिवमा विजया खड्का चयन भएका छन। यही साउन ७ देखि १० गतेसम्म आयोजना भएको महाधिवेशनमा देशभरका झण्डै ५०० प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: १८:१८ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्