हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा उपचार सेवा दिने

रसुवा, साउन १० : जनैपूर्णिमाका अवसरमा तीर्थस्थल गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ हिमालय उद्धार सङ्घले चिकित्सक टोली तयार गरेको छ।
तीर्थ जाँदा लेक लाग्नेलगायत शरीरका विविध समस्या तत्काल हटाइ भक्तजनलाई धार्मिक यात्रा सहज पार्न सङ्घले उक्त टोली तयार गरेको हो। सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालका अनुसार पुत्रदा एकादशीअर्थात् यही साउन २३ देखि २७ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमै शिविर खडा गरी अक्सिजन एवं आवश्यक औषधिसहितको छ सदस्यीय टोलीले २३ गतेदेखि गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिसक्ने र शिविर सञ्चालनको सबै खर्च सङ्घले बेहोर्ने छ।
गोसाइँकुण्डमा बसेर सङ्घले २५ वर्षदेखि उपचार सेवा दिँदै आएको र सेवा जनहितकारी भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। यस्तै गोसाइँकुण्डको प्राथमिक उपचारको जिम्मा सङ्घको हुने र लौरीविनायक, चोलाङ्पाटी, चन्दनबारी तथा देउराली क्षेत्रमा उपचार गर्ने संस्थाको नामावली दुईचार दिनमा तय भइसक्ने समितिका अध्यक्ष सञ्जीव डिएमले बताए।
सेयर आवेदन म्याद थप
रसुवागढी हाइड्रोपावर कम्पनीले खुला सेयर मागको आवेदन दिने म्याद पुनः थपेको छ। गत असार १३ गतेदेखि खुला भएको आवेदन म्याद यही साउन महिनाभर कायम रहेको कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए। रसुवाबासीले पाउने ६८ लाख ४२ हजार १०० कित्ता शेयरमध्ये यथेष्ट आवेदन नपरेकाले दोस्रो पटक आवेदन म्याद थपिएको हो।
म्यादभित्र बहुसङ्ख्यक जिल्लावासीले फाराम नभरेकाले नेपाल धितोपत्र बोर्डको अनुमतिमा म्याद थपिएको जनाइएको छ। करिब ४५ हजार जिल्लाबासीमध्ये हालसम्म २७ हजार सात सय आठले मात्र सेयर फाराम भरेका छन्।












