Kathmandu Press

१०५ वर्षीय पनाजु पुर्जा : जंगलबाट निगालो काटेर ल्याउँछन्, भकारी, मान्द्रो र डोको बुनेर बेच्छन् 

गलेश्वर, साउन १० : दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि...
१०५ वर्षीय पनाजु पुर्जा : जंगलबाट निगालो काटेर ल्याउँछन्, भकारी, मान्द्रो र डोको बुनेर बेच्छन् 

गलेश्वर, साउन १० : दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएको छ। 

मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउँछन् पनाजु।

नित्यकर्मपछि उनी घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई आउँछन्।  घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन् । वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै पुर्जाका पाइला सुस्तसुस्त अघि बढ्छन् ।

पुर्जा गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन्  र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि मात्रै उनी खाना खान्छन्। त्यसपछि उनी दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन सुरु गर्छन्

पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर आम्दानी समेत गरिरहेका उनका नाती  होमबहादुर बताउँछन्। पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन्।

पुर्जा बिहानको खानामा सधैँजसो कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो खान्छन्  । ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिने नाति होमबहादुर बताउँछन् । ‘अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँसीमा गर्नुहुन्छ । उहाँ एकछिन पनि बेफुर्सद हुन चाहनु हुन्न,’ होमबहादुरले भने। 

‘उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ,’ पुर्जाले भने।  उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन्। 

पुर्जा गाउँभरीमै प्रिय छन् । ‘काम गर्दै कुरा गर्नुहुन्छ । दोस्रो व्यक्तिसँग कहिल्यै रिसाउनुहुन्न । रुखो बोल्नुहुन्न,’ सथानीय देवान छन्त्यालले भने। ‘घरपरिवारले पनि औधी माया गर्छन् । घरमा पनि नपुग्दो केही छैन तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ,’ नाती होमबहादुरले भने। 

पुर्जालाई  अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग देखिएकै छैन । ‘पछिल्लो समय कान अलि कम सुन्नुहुन्छ, अरू कुनै स्वास्थ्य समस्या छैन ,’ होमबहादुर भन्छन्, ‘ शरीर चलुन्जेलसम्म काम गर्छु, नचलेपछि छाड्छु भन्नुहुन्छ  ।  कहिलेकाही दम बढेको जस्तो भयो भनेपनि जडिबुटीको औषधी बनाएर पिउनुहुन्छ ।’  

गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोस, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन् । पचासी वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गर्छन्। 

पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी भइन्। लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छिन् ।  उनका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा। (रासस)

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्