सोमालिया पठाउने मानवीय सहायता रोकिन सक्ने
मोगादिसु, असार ९ : सहायता संस्थाहरुले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन्। आर्थिक सहायताको अभावका कारण सो सहयोग रोकिन सक्ने...
मोगादिसु, असार ९ : सहायता संस्थाहरुले सोमालियाका लागि पठाउँदै आएको मानवीय सहायता रोकिन सक्ने बताएका छन्। आर्थिक सहायताको अभावका कारण सो सहयोग रोकिन सक्ने अवस्था आएको ती सहायता संस्थाहरुले जानकारी दिएका हुन्।
संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले पनि आइतबार सो कुराको जानकारी गराएको छ। आवश्यक सहयोगको अभावमा ती सामग्री रोकिन लागेको संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले जानकारी दिएको छ।
आर्थिक कोषको अभावमा खासगरी अहिले सोमालिया पठाइँदै आइएका खाद्यान्न, आवश्यक औषधिजन्य सामग्रीहरुका साथै बालबालिकाका लागि वितरण गर्दै आएको पोषणसम्बन्धी कार्यक्रमका वस्तुहरु पनि रोकिनसक्ने सो संस्थाले जनाएको हो।
सोमालियामा आन्तरिक द्वन्द्व र व्यापक मात्रामा परेको खडेरीका कारण यहाँका नागरिकलाई पोषणयुक्त खाद्यान्न तथा आवश्यक औषधिसमेत संयुक्त राष्ट्रसङ्घीय एजेन्सीेको समन्वयमा विभिन्न दाताहरुले आपूर्ति गर्दै आएका छन्।
सोमालियाका ७७ लाख नागरिक गएको कम्तीमा एक दशकदेखि खाद्यान्न अभावको समस्यामा परेका थिए। यस सहायताबाट उनीहरुलाई ठूलो राहत मिलेको बताइएको थियो।
यहाँ परेको खडेरीले ठूलो संख्याका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको छ। खडेरीका कारण पानीको समस्या भोग्न उनीहरु बाध्य छन्।
एक रिपोर्ट अनुसार यहाँका नौ लाख भन्दा बढी नागरिक त पानीको अभावका कारण पानी खोज्ने क्रममा आन्तरिक रुपमा विस्थापित भएर अन्यत्रै सरेका बताइएको छ।












