Kathmandu Press

गोरखामा गर्भवतीको निःशुल्क भिडियो एक्सरे

गोरखा, साउन ९ : गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरुआत गरेको छ।गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा...
गोरखामा गर्भवतीको निःशुल्क भिडियो एक्सरे

गोरखा, साउन ९ : गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरुआत गरेको छ।

गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिनेका लागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए। गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा शुरु गरिएको उनको भनाइ छ।

प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाइएको उनले बताए। गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए।

अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगरे सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। सेवा सुरु गरेको छोटो अवधि दुई जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्न सकिएको जनाइएको छ।

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको छ। सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्