Kathmandu Press

शोकमा डुब्यो झापाकाे दले गाउँ

शोकमा डुब्यो झापाकाे दले गाउँ

झापा, साउन ८ : कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ। आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको हाे।

स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ। आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन।

Hardik ivf

उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उनले बताए। 'नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो,' उनले भने। 'यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए। एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ।' उनले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताए।

मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताए। अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन्। कल्पना करिनाकी छिमेकी हुन्। अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उनको भनाइ छ।

'तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे,' उनले भने, 'यो घटनाले वडा नै शोकमय बनेको छ। आज बिहान कसैको घरमा खानासमेत पाकेन। विचित्रको घटना भयो।'

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्