प्रदेश प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेस
विराटनगर, साउन ८ : प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ।प्रदेश १ को प्रदेशसभा नियमावली,...
विराटनगर, साउन ८ : प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ।
प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेस गरे। विधेयकले प्रदेशका सबै भाषा, लिपि, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पुर्याउने विश्वास लिइएको छ।
‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताए।
गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उहाँले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्ने दाबी गरे।
बैठकको विशेष सयममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सबै चासो र जनहितका लागि निकै महत्वपूर्ण मानिएको सुनसरीको दुहबी र इनरुवा सडकलाई स्तरोन्नति गर्नुपर्ने माग गरे।
उनले दिनप्रतिदिन सवारी चाप बढेको र अधिक सवारी चापले बाटो जीर्ण हुँदै गएकाले सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिए।
विगतका बहुवर्षीय योजना अहिले निर्माण कम्पनीले धमाधम छाड्ने अवस्था सिर्जना भएको सम्बन्धमा प्रदेश सरकारले जवाफ दिनुपर्ने भन्दै नेता कोइरालाले किसानले समयमै मलखाद र बीउबिजन पाउन ठोस उपाय निकाल्नुपर्ने धारणा राखे। प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ।












