Kathmandu Press

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर, साउन ८ : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताए। 

Hardik ivf

जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ। पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने सरदर कम रोपाइँ भएको सूचना अधिकारी पौडेलले बताए। 

असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्नुपर्ने भए पनि असारमा पानी कम परेका कारणसमेत रोपाइँ ढिलो भएको छ। कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानले अब बल्ल रोपाइँको तयारी गरेको उनले बताए। साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ सकिने उनको भनाइ छ।

'धेरैजसो किसानले धान रोपाइँ सकेका छन्, चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइँको तयारीमा छन्,' सूचना अधिकारी पौडेलले भने, 'साउन १५ सम्म नवलपुरमा लगभग रोपाइँ सकिन्छ।' नवलपुरमा शतप्रतिशत धान रोपाइँ हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए। 

धान लगाउने समय अझै बाँकी रहेकाले शतप्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको उनले बताए। जिल्लामा स्थानीय जातका धान  सावित्री, सावा, रामधान बढी मात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताए। केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको उनले जानकारी दिए। 

गत वर्ष बीउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेकाले अहिले बीउ छर्ने सिजनमा नै एग्रोभेटलाई सूचीकृत नभएका धान बिक्री वितरण नगर्न भनिएकाले यस पटक त्यस्तो समस्या नआउने सूचना अधिकारी पौडेलले बताए। 'बीउका कारण कहिलेकाहीँ धान उत्पादनको समयमा बाला नलाग्ने लगायतका समस्यादेखिने गर्दछ, त्यस्तो नहोस् भन्नका लागि हामीले जिल्लाका एग्रोभेटलाई सूचीकृत नभएका बीउबिक्री नगर्न सचेत गराएका थियौं,' सूचना अधिकारी पौडेलले भने, 'अहिले बीउका कारणले उत्पादनमा समस्या पर्दैन।'

नवलपुरको तल्लो क्षेत्र गैँडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौँली, अग्यौली,  मध्यविन्दु ,कोल्हुवा, क्षेत्रमा धेरै धानखेती लगाउने गरिन्छ। नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ। 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्