Kathmandu Press

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

सिन्धुपाल्चाेक, साउन ८ : प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन। यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।

यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ। समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन्। संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो। इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्। पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ। मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमो पाँचपोखरीलाई पनि छनोट गरेको छ। पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन्। विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिवसरह श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

अहिले पाँचपोखरीसम्म पुग्ने बाटो निर्माण, सूचनापाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङ्पाल गाँउपालिका–३ भोताङका अध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए। भोताङपछि विभिन्न स्थानमा होमस्टे रहेकाले खान, बस्न समस्या नहुने उनले बताए। पर्यटन प्रवद्र्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने तामाङले बताए। पाँचपोखरी आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, ज्योवाथान डाँडालगायत जुगल हिमाल, दोर्जे लाक्पा हिमालसमेत रहेका छन्।

त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङ्पालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा सरसफाइ गरिएको छ। स्थानीयवासी, कर्मचारी, सुरक्षाकर्मीलगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए। यहाँ पनि जनैपूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ।

प्रकाशित मिति: ०९:४९ बजे, आइतबार, साउन ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्