बिपीको सालिकमा माल्यार्पण
काठमाडौं, साउन ६ : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको सालिकमा माल्यार्पण गरिएको छ।कोइरालाको ४०औँ स्मृति दिवसको अवसर पारेर आज सुन्दरीजलस्थित...
काठमाडौं, साउन ६ : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको सालिकमा माल्यार्पण गरिएको छ।
कोइरालाको ४०औँ स्मृति दिवसको अवसर पारेर आज सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको उनको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएको त्यहाँका अध्यक्ष परशुराम पोखरलले जानकारी दिए।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो। बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनर्निर्माण भइरहेको छ।
कोइरालाको ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका उनको २०३९ साउन ६ गते निधन भएको थियो। कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्।
उनको जन्म १९७१ भदौ २४ गते भएको थियो। २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
बिपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ। महाधिवेशनको कांग्रेस सभापतिले आज उद्घाटन गरेका छन्।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउनसमेत योगदान दिएका थिए।












