इटालियन कम्पनी सीएमसीसँगको ठेक्का तनहुँ हाइड्रोले पनि तोड्दै
काठमाडौं, माघ २६ : तनहुँ हाइड्रो लिमिटेडले पनि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का रद्द गर्ने तयारी गरेको छ । दुई दिन अगाडी मात्रै मेलम्ची खानेपानी....

काठमाडौं, माघ २६ : तनहुँ हाइड्रो लिमिटेडले पनि इटालियन कम्पनी सीएमसीसँगको ठेक्का रद्द गर्ने तयारी गरेको छ । दुई दिन अगाडी मात्रै मेलम्ची खानेपानी विकास समितिले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता तोडेको थियो ।
मेलम्ची खानेपानी आयोजनाबाट भागेको सीएमसीले तनहुँ हाइड्रो लिमिटेडसँग समेत सम्पर्क गर्न छाडेको छ । लिमिटेडले फागुन ४ सम्म सम्पर्कमा नआए ठेक्का सम्झौता तोड्ने जनाएको छ । १४० मेगावाट क्षमताको आयोजनाको तनहुँ हाइड्रोले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन दुई साता अघि समय तोकेर निर्देशन दिएको छ । उक्त समय सीमा फागुन ४ गते सकिदैछ । तनहुँ हाइड्रोले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो ।
मेलम्ची खानेपानी आयोजनामा जस्तै काममा कम्पनी नफर्के तनहुँ हाइड्रोको निर्माण समय पनि फेरि लम्बिने निश्चत भएको छ । कम्पनीले ठेक्का तोडेमा फेरि ग्लोवल टेन्डरको आह्वान गर्नुपर्ने लगायतका प्रक्रियाका कारण परियोजना ढिलो हुने निश्चित हुनेछ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले सीएमसी ठेकेदार नआएको अर्को एक वर्ष लम्बिन सक्ने विद्युत प्राधिकरणका एक अधिकारीको भनाई छ । ‘कम्पनीको जिम्मामा धेरै काम भएकोले पुनः ग्लोवल टेन्डर गरेर सम्झौता गर्दा ८ महिना लाग्ने छ,’ ती अधिकारीले भने, ‘नियमित प्रक्रिया सुरु भएपनि ठेक्का तोडेको सन्दर्ममा अर्को एक बर्ष ढिलो हुन्छ ।’
मेलम्ची खानेपानी आयोजनाले यसअघिनै स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा सिएमसीले राखेको २ अर्ब ५६ करोड रुपैया धरौटी जफत गरेको जनाएको छ ।
सीएमसीले तनहुँ हाइड्रोसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थिया । ठेकेदार कम्पनी सीएमसीले नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणको पनि जिम्मा लिएको थियो ।
दोस्रो चरणको निर्माणको लागि भने तनहुँ हाइड्रोले चीनको सिनो हाइड्रो कर्पोरेशनसँग निर्माण ठेक्का गरेको छ । जसमा आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान लगायतका कार्य छन् । जसको लागि झन्डै १७ अर्ब रुपैयाँ लाग्ने छ ।











-1754206481.jpg)