उद्योगमा लगानी : ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव

काठमाडाैं, साउन ५ : पछिल्लो ६ दशकमा मात्रै मुलुकको उद्योग क्षत्रेमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ।
यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै रु. २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको उल्लेख छ।
नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७८/७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो। तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ।
विवरणअनुसार साना उद्योग ५ हजार ४ सय ४२, मझौला उद्योग २ हजार १७ र ठुला उद्योग १ हजार ३ सय ५ दर्ता भएका छन्। तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ।
एक वर्षमै थपियो एक खर्ब ८७ अर्ब
कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ। विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको सङ्ख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिए।
उनका अनुसार गत आव २०७७/७८ को तुलनामा २०७८/७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ।
आव २०७७/७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८/७९ मा रु तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ। एक वर्षको अवधिमा रु एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो।
गत आव २०७८/७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योेग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन्। गत आव २०७७/७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए।
बढ्यो विदेशी लगानी
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ। एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा रु २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो।
आव २०७८/७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा रु ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएकोे छ। आव २०७७/७८ मा १८४ उद्योगका लागि रु ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो। उद्योग विभाग स्थापना भएदेखि हालसम्म रु. ४ खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ।
कुनमा उद्योगमा कति प्रतिबद्धता?
गत आवमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएको छ। एक वर्षका अवधिमा ९७ सेवामूलक क्षेत्रका उद्योगमा मात्रै रु २७ अर्ब २९ करोड ८१ लाख बढीको लगानी प्रतिबद्धता आएको देखिन्छ।
सेवामूलकपछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ। सेवामूलक क्षेत्रका उद्योगभन्दा पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या धेरै भए तापनि सेवामूलक क्षेत्रका उद्योगमा बढी लगानी प्रतिबद्धता आएको छ।
विभागको तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा १२४ उद्योगका लागि रु १९ अर्ब ६० करोड १५ लाख बढीको प्रतिबद्धता आएकोे हो। यस्तै, कृषि क्षेत्रमा चार उद्योगका लागि रु साठी करोड, ऊर्जा क्षेत्रमा एक उद्योगका लागि रु दश करोड ६२ लाख, सूचना प्रविधि क्षेत्रमा ६ उद्योगका लागि रु ४७ करोड, पूर्वाधार क्षेत्रका आठ उद्योगका लागि रु एक अर्ब ७२ करोड ४० लाख र उत्पादनमूलक क्षेत्रका ५१ उद्योगका लागि रु आठ अर्ब १४ करोड बराबरको प्रतिबद्धता आएको हो।
लगानी प्रतिबद्धतासँगै स्वदेशी लगानीका उद्योगले २८ हजार ५२७ र विदेशी लगानीका उद्योगले १६ हजार ९१९ गरी ४५ हजार ३४६ लाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।
स्वदेशी लगानीका ३०९ उद्योग दर्ता
विभागको तथ्याङ्कअनुसार एक वर्षका अवधिमा स्वदेशी लगानीमा ३०९ वटा उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ।
ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा रु एक खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार बराबरको लगानी प्रस्ताव आएको हो।
यस्तै, ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन्। एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा रु ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रका ५८ उद्योगमा रु २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि रु ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि रु पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि रु दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि रु २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको हो।
-1786430634.png)










