सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, साउन ४ : कपिलवस्तु, बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित सडकमा ना.५ ख ९३५० नम्बरको बसले रा.७ प ३५९४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–९ बस्ने ३० वर्षीय सुसिल केसीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय बुद्ध पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कपिलवस्तु, वाणगंगा नगरपालिका १० भावपुरस्थित सडकमा लु.२ च ४०५२ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने यमलाल पौडेलकी छोरी ९ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, गौशला नगरपालिका २ स्थित सडकमा प्रदेश २–०२–००१ प ८६७९ र प्रदेश २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा प्रदेश २–०२–००१ प ८६७९ नम्बरको मोटरसाइकल चालक औरही नगरपालिका–६ बस्ने २४ वर्षीय बिबेक कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशला हुँदै थप उपचारको लागि लागि जलेश्वर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै घाइते प्रदेश २–०२–००३ प ७७३८ नम्बरको मोटरसाइकल चालक गौशला नगरपालिका–४ रजखोर बस्ने २५ वर्षीय कृण्ण यादवलाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












