Kathmandu Press

कर्णालीका भेडापालक किसानले पाए गोठालो भत्ता

कर्णाली, साउन ३ : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना...
कर्णालीका भेडापालक किसानले पाए गोठालो भत्ता

कर्णाली, साउन ३ : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाबाट जिल्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन्। पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए। निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्डस्तरमै स्थलगत रिपोर्ट र मूल्याङ्कन गरेपछि मात्र सो भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरेको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए।

प्रदेश सरकारले यहाँका भेडाको उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्ने उद्देश्यस्वरूप गोठालो भत्ता दिने गरिएको छ। भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम लागू गरिएको पशु सेवा कार्यालयका प्रमुख महतले बताए। पचासदेखि माथि भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वार्षिक १८ हजार भत्ता दिइएको हो।

Hardik ivf

यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो। रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ। यो कार्यक्रमले किसानको रुचि भेडापालनतर्फ बढ्ने अपेक्षा गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालयमा २८४ किसानले आफ्नो फार्म सूचीकृत गराएको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। सो कार्यक्रम माथिल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा गरी पाँच जिल्ला प्रदेश सरकारले लागू गरेको छ।

भेडा गुमाएका कृषकलाई राहत वितरण

जिल्लाको पातारासी गाउँपालिका–४ लुमका चट्याङमा परी भेडा गुमाएका पाँच कृषकलाई राहत वितरण गरिएको छ। कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्तरूपमा कृषकहरुलाई राहत वितरण गरेका हुन। कृषकहरुलाई कूल पाँच लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ।

यसमध्ये धर्मसिंह रिउले रु एक लाख ४४ हजार, सुक रिउले रु एक लाख ७६ हजार, मानबहादुर रोकायाले रु ८० हजार, शङ्कर नेपालीले रु ४० हजार र जोरा रोकाया रु ८० हजार पाएका छन्। प्रतिभेडाको रु चार हजारका दरले वितरण गरिएको पशु सेवा कार्यालय जुम्ला प्रमुख गोविन्दबहादुर महतले बताए।

गत असार १७ गते पातारासी–४ मा पर्ने बागजाले पाटनका चट्याङ परी पाँचजना कृषकका ८० वटा भेडा मरेका थिए भने ३०० भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सचिव दाहालले कर्णालीका किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए।

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्