Kathmandu Press

सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने

नवलपरासी, साउन ३ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै...
सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने

नवलपरासी, साउन ३ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो। 

नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि  सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी थालिएको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले जानकारी दिए। जिल्लामै मिर्गौला डायलाइसिस सेवा नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो।

हाललाई दश वटा उपकरणसहित सुनवलको बालमैत्री सिकाइ केन्द्रको भवनमा डायलाइसिस सेवा सञ्चालन गर्ने गरी काम थालिएको उल्लेख गर्दै उनले भने, ‘सेवा केन्द्रको स्थायी संरचना नहुँदासम्मका लागि सिकाइ केन्द्रको भवनमा सञ्चालन गर्न लागेका छौँ, यसबाट मिर्गौलापीडित बिरामीले जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हट्नेछ’

सुनवलमा स्थापना हुने सेवा केन्द्रबाट सुनवलसहित पश्चिम नवलपरासीका मिर्गौलापीडित बिरामीले सेवा पाउने छन् । करिब रु पाँच करोडको लागतमा स्थापना हुने उक्त केन्द्रमा दैनिक बीस बिरामीको नियमित डायलाइसिस गरिने र बिरामीको चाप बढ्दै गए सेवा सुविधा पनि विस्तार गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।

उनका अनुसार पश्चिम नवलपरासी जिल्लाबाट ४२ बिरामी नियमित डायलाइसिसका लागि बुटवलको मुटु अस्पतालमा जाने गरेका छन् । त्यसमध्ये अधिकांश सुनवलका बिरामी रहेकोले पनि सेवा केन्द्र सुनवलमा सञ्चालन गर्न लागिएको होे । सेवा केन्द्रमा तालिम प्राप्त विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । मिर्गौलापीडित रेकबहादुर गुरुङ्ले जिल्लामै सेवा केन्द्र स्थापना हुनु खुसीको कुरा भएको र  अब टाढा जान नपर्ने भएकोले राहत हुने बताए। 

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्