Kathmandu Press

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

चितवन, साउन २ : राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा...
राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

चितवन, साउन २ : राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो ।

डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए। 

Hardik ivf

खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ । यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद् गरिएको उनले जानकारी दिए। 

आर्थिक वर्ष २०७७÷७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए ।  डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ । यसमा  बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ ।  खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ। 

यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु तीन करोड ६९ लाख छ हजार राजश्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ। 

खनालका अनुसार बिरुवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरु गरिएको हो। शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिए अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्