Kathmandu Press

भारत-चीन सैन्य वार्ता चुशुलमा सुरू

भारत-चीन सैन्य वार्ता चुशुलमा सुरू

नयाँदिल्ली, साउन १ : भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औं चरणको वार्ता चुसुलमा सुरु भएको छ।

भारतीय भूमि चुसुल-मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ। 

Hardik ivf

वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन्। द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ। यसअघि दुवै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए। साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

सन् २०२० को अप्रिल-मेमा  चीन-भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो। 

कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए। साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुंगाे नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए। 

हालै इन्डाेनेसियाको बालीमा भएको जी-२० का विदेशमन्त्रीहरूको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका थिए। 

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन। यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ। 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्