साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल
काठमाडाैं, साउन १ : साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल...
काठमाडाैं, साउन १ : साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ।
पशुपति क्षेत्रमा चहलपहलसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोल बम यात्रीको पनि आजैदेखि भिड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।
विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो। दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यसवर्ष भने चान्द्रमासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका थिए। चान्द्रमास अनुसार यसवर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो।
साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउन भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताउनुभयो। कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ।
यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ। कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ। पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ।
पशुपति क्षेत्रमा साउन महिनाको पनि सोमबार विशेष भीड लाग्ने गर्छ। यसवर्ष साउनमा पाँच सोमबार परेका छन्। पाँच सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ।
धार्मिक संस्थाको आयोजनामा यसवर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ। भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ। भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ।
यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन्। साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ। करिब १०० कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ।












