ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा निर्वाचित
काठमाडाैं, साउन १ : संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन्।परिषद्को शनिबार भएको निर्वाचनको...
काठमाडाैं, साउन १ : संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन्।
परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। अध्यक्ष शर्माले ७७२ मत प्राप्त गर्नुभयो भने अधिकारीले ५६८ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) विजयी भएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले जानकारी दिए।
यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी भएका छन्। कुल १५ सदस्यका लागि भएको निर्वाचनमा १ हजार ५९८ मतदातामध्ये झण्डै १ हजार ४ सय मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए।
मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिबद्ध भएर लाग्ने बताए।
एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसकेका शर्माको स्थायी घर बाग्लुङ हो। उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा संलग्न छन्।











