Kathmandu Press

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

कर्णाली, साउन १ : कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली...
कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

कर्णाली, साउन १ : कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन्।

सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए। ‘पहिला डुङ्गाबाट तर्नुपथ्र्यो त्यसमा निकै असहज हुन्थ्यो । डुङ्गा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो।’

Hardik ivf

यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपथ्र्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए। ‘यो धेरै पुरानो बाटो हो । विगतमा घोडा चढेर आउने, डुङ्गा कुर्नुपर्ने बाध्यता थियो । तर अहिले जतिखेर हिँडे पनि सजिलो छ”, उहाँले भन्नुभयो, ‘‘पहाडी जिल्लाका मानिसलाई पुल बनेपछि निकै सहज भएको छ।’

पश्चिम नेपालको तराई, पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिलेदेखि नै चलनचल्तीका हुन् । इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद जानकारी दिए।

‘परम्परागत इतिहास बोकेका बाटा हुन् । पहाडी जिल्लाका मानिस हाट आउने बाटा हुन् यी, चिसापानी कुइने पर्यटकीय दृष्टिले पनि यो सुन्दर ठाउँ हो,’ उनी भन्छन्, ‘यो बाटोले तराई, पहाडमात्र नभएर हिमाली जिल्लालाई जोड्ने भएकाले यहाँ धेरै फाइदा भएको छ।’

अनक कन्ट्रक्शन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुुल रु ६२ करोडको लागतमा निर्माण भएको हो । पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन् ।

अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ । अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तीनसय मिटर लामो मल्टी स्पान आर्क ब्रिज रु ३२ करोडको लागतमा निर्माण भएको हो । पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दशैँभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीका प्रबन्धक दिनेश श्रेष्ठ बताए । ‘अहिले कर्णाली चिप्लेघाटमा बनेको पुल सम्पन्न भइसकेको छ । अर्को पुलमा साइडमा मानिस हिँड्ने बाटो बन्दैछ । अब केही दिनमा सञ्चालन हुन्छ,’ उनले भने।

यी दुवै पुल नेपाल सरकार सडक विभागको पुल आयोजनाअन्तर्गत बनेका हुन् । यसरी पुल पुलेसा बन्नु भनेको विकासका कार्य हुनुका साथै नागरिकलाई सडक, सुविधासँग जोड्ने काम हुने स्थानीय रेवती धामी बताइन् । ‘डुङ्गाको जोखिमपूर्ण यात्राबाट मुक्ति पाएका छौँ’, उनले भने, ‘पुल बनेकाले अब यहाँसम्म सहजरूपमा पुग्ने सडक सञ्जालको विस्तार गर्नुपर्छ।’ 

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्