Kathmandu Press

सुडानमा जातीय दंगा, ३१ जनाको मृत्यु

सुडानमा जातीय दंगा, ३१ जनाको मृत्यु

खार्तुम, असार ३२ : सुडानमा भएको जातीय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ। देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ। 

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन्।  

सुरक्षा समितिले घटनास्थलमा कफ्‌र्यु आदेश जारी गरेको छ। कफ्‌र्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ। 

ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्‌र्यु आदेश जारी गरिएको हो।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए।  

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सिमा क्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ। 

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्