महामारीले बढायो जुवातासको लत
सिड्नी, असार ३२ : कोभिड–१९ को महामारीका बेला अस्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ।सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना...
सिड्नी, असार ३२ : कोभिड–१९ को महामारीका बेला अस्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ।
सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो।
नेसनल लाइब्रेरी अफ मेडिसिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिक रूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ।
विकासात्मक मनोवैज्ञानिक एवं म्याक्वेरी विश्वविद्यालयका एसाेसिएट प्राेफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्न सक्ने बताएका छन्।
इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, विगतका आमोदप्रमोद एवम् मनोरञ्जनका कुरामा अरूची र वेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुन सक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन्।
सामाजिक रूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिकमात्रामा व्यस्त रहेका पाइएको छ।
प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई पनि सर्वेक्षणमा उद्धृृत गरेका छन्। सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चारसय मिनेटमा सीमित थियो।












