Kathmandu Press

त्रि–विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग

कर्णाली, असार ३१ : ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ। उक्त माग राख्दै समाजले...
त्रि–विधेयक पारित गर्न ‘विधेयक सरोकार समाज’ को माग


कर्णाली, असार ३१ : ‘विधेयक सरोकार समाज’ ले कर्णाली समृद्धिको आधार मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राखेको छ। उक्त माग राख्दै समाजले वीरेन्द्रनगर–७ सुर्खेत इत्रामस्थित कर्णाली प्रदेशसभाको चोक अगाडि आज दबाबमूलक कार्यक्रम गरेको थियो। समाजमा आबद्ध युवाले सभामा छिर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरी तितरवितर बनाएको थियो। समाजको नेतृत्व गर्दै कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले कर्णाली समृद्धि र स्वाभिमानका आधारस्तम्भ सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयक पारित गर्न उदासीन देखिएको बताए।

उनले प्रदेशसभाको आज बसेको दशौँ अधिवेशनको बैठकमा तीन विधेयकका विषयमा सरकारको जवाफ माग गरे। सरकारले आफैले विसं २०७७ कात्तिक २५ गते ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

विश्वविद्यालयको विधेयक सदनमा टेबुल भएर छलफलका लागि सामाजिक विकास समिति पठाइएको छ। ढाई वर्षसम्म पर्वतीय विश्वविद्यालय समितिमै अड्केको छ। प्रदेशसभा सदस्य भण्डारी आफैँले विसं २०७८ असोज १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ र पुस २६ गते दर्ता गराएको ‘कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविस्कार प्रतिष्ठान विधेयक, २०७८’ दुवै गैरसरकारी विधेयक हुन्। यसमा सिञ्जा सभ्यता विधेयक सभामा टेबुल भएर छलफलका छ महिनादेखि समितिमै रहेको जनाइएको छ।

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, असार ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्