सिरहा नगरका विद्यालयमा खानेपानी र स्वच्छता सुविधा हुँदा विद्यार्थी उत्साहित
सिरहा, असार २९ : सिरहा नगरपालिका-१९ स्थित श्री माध्यमिक विद्यालय सन्हैठाका विद्यार्थी फिल्टर गरिएको स्वच्छ पिउने पानीसहित हात धुने सुविधा (वास सुविधा) र...
सिरहा, असार २९ : सिरहा नगरपालिका-१९ स्थित श्री माध्यमिक विद्यालय सन्हैठाका विद्यार्थी फिल्टर गरिएको स्वच्छ पिउने पानीसहित हात धुने सुविधा (वास सुविधा) र अरु सरसफाइ तथा स्वच्छतामा भएको सुधारले विद्यार्थीहरू नियमित विद्यालय जान उत्साहित भएका छन्।
बिएमजेड/भिसिए/डब्लुएचएचसँगको साझेदारीमा सबल नेपालद्वारा सञ्चालित वास गभर्नेन्स प्रोजेक्टले सो विद्यालयमा सञ्चालन गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण आयोजना मंगलबार सिरहा नगरपालिपाकाका प्रमुख डा. नवीनकुमार यादवज्युको प्रमुख आतिथ्यमा उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
.jpeg)
कार्यक्रममा सार्वजनिक लेखापरीक्षण गराउँदै विद्यालयका प्रधानाध्यापक विनोदकुमार यादवले सबल नेपालको सहयोगमा विद्यालयमा बायो स्यान्ड फिल्टर जडित सुरक्षित खानेपानी सुविधा, १२ ओटा धारा जडित समूहमा हात धुने सुविधा, शौचालयको मर्मतसम्भर एवं स्तरोन्नति, फोहोर पानी व्यवस्थापन गर्न सोक्तालगायत संरचनाहरु निर्माण गरेको बताए।
उनले सबल नेपालको परियोजनाबाट रु. ६ लाख १० हजार ५१३ र विद्यालयको तर्फबाट रु. २४ हजार लागतमा हात धुने सुविधाका संचारना निर्माण भएको समेत स्पष्ट पारे।
प्रमुख यादव ले फिल्टर जडित पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक भएको र यसले विद्यार्थीलाई पानिजन्य रोगहरु लाग्नबाट जोगाउने भएकाले यसको दिगो व्यवस्थापन गरी नियमित प्रयोगमा ल्याउन विद्यालयलाई निर्देशन दिए। साथै सबल नेपालको यो कार्यको सराहनासमेत गरे।

सबल नेपालका परियोजना संयोजक भीम शाहीले विद्यालयमा सरसफाइ तथा स्वच्छताको विषय छायामा परेको सन्दर्भमा परियोजनाले 'विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४' लाई आधार मानेर 'तिन तारे' नमुना विद्यालय बनाउने लक्ष्य राखेर हात धुने सुविधा निर्माण एवं विध्यार्थीको सरसफाइ तथा स्वच्छतासम्बन्धी बानीव्यवहारमा परिवर्तन ल्याउने कार्य गरिरहेको जानकारी गराए। हाल सिरहा नगरका ६ वटा विद्यालयमा वास सुविधा स्तरोन्नतिको काम भईरहेको जानकारी शाहीले बताए।












