भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई बस वितरण

काठमाडौं, असार २९ : भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ। वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो।
महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ। विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको बताइन्। उनले महानगरको शिक्षा क्षेत्रमा आफूले सोचेको भन्दा बढी विकास भएको बताइन्। उनले भनिन्, ‘विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको छ।’
सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन काम गरिरहेको छ । दाहालले भने, ‘पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढेका छन्।’ विद्यालयमा आधुनिक भवन निर्माण, छात्रालाई साइकल वितरण, विद्यालयलाई बस, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरणलगायत गरेको उहाँको भनाइ छ । महानगरपालिकाले ‘एक वडा, एक नमूना विद्यालय’ निर्माणको लक्ष्य लिएको छ।












