Kathmandu Press

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे

बेनी, असार २९ : म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्रे भएको छ।बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका...
डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्रे

बेनी, असार २९ : म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्रे भएको छ।

बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्रे भएपछि पश्चिम म्याग्दीका तीन गाउँपालिकाका साथै छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। सडक कालोपत्रे भएपछि मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन्।

Hardik ivf

२०६३ मा निर्माण गरिएको २७ किलोमिटर लामो बेनी–दरबाङ सडक खण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्रे भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ।

सडक कालोपत्रे भएपछि करिब दुई घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताए। “सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ, रणबाङका हरिकृष्ण पौडलले भने।

बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्रे गरेको हो। कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्रे गरिएको छ। एघार मिटर फराकिलो सडकमा सात मिटर कालोपत्रे गरिएको छ।

सडक कालोपत्रे गर्न २०७४ असोजमा ४५ करोडमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा काम गर्न ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। तत्कालीन सडक डिभिजन कार्यालयले ठेक्का लगाएको उक्त सडक २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।

आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्मको आठ किलोमिटर खण्ड कालोपत्रे गर्न २२ करोड ५७ लाखमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको छ। एक वर्षयता सो कम्पनीले काम नगर्दा काम अधुरै छ। यस्तै मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ। (रासस)

प्रकाशित मिति: ०८:५९ बजे, बुधबार, असार २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्