सञ्चार क्षेत्रलाई मयार्दित बनाउनुपर्छ : मुख्यमन्त्री केसी
लुम्बिनी, असार २८ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने...
लुम्बिनी, असार २८ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैँ मयार्दित हुनुपर्ने बताएका छन। मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे।
लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदान पुर्याउन आवश्यक रहेको बताए। प्रदेश सरकारले पत्रकारलाई सम्मान गरी लोकप्रियता कमाउनुभन्दा पनि पत्रकारले गरेको कामलाई सम्मान गरेको बताउँदै उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारका जनमुखी कार्यलाई जनतासमक्ष पुर्याईदिन आग्रह गरे।
कार्यक्रममा विन्दुकुमार चौहान, खिमानन्द भट्टराई, सन्जु पौडेल, डिलाराम भुसाल र प्रेम विक सम्मानित भए। सो अवसरमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयतालाई बलियो बनाउने गरी लाग्न सञ्चार क्षेत्रलाई अनुरोध गरे।












