आइजिपी बढुवाविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं, असार २७ : सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको मुद्दा आज (सोमबार) पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको उक्त मुद्दा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले ‘हेर्दाहेर्दै’ मा राखेको हो।
उक्त मुद्दा यसअघि पनि पटकपटक हेर्दाहेर्दैमापर्दै आएको छ। ता वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आइजिपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि सो नियुक्ति कानुनविपरीत रहेको भन्दै एआइजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न हुनुपर्ने माग उनले रिटमा गरेका छन्।
न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते उक्त विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।












