Kathmandu Press

अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने

पाल्पा, असार २७ : पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका...
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने

पाल्पा, असार २७ : पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । 

अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन्। शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको हो । शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको छ। अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट वञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए। 

अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य भएका छन् । विशेषगरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्तकहाँ आश्रय लिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । तथ्याङ्क सङ्कलन भएपछि काम अगाडि बढ्नेछ। 

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम गापास्तरीय एक नमूना विद्यालय निर्माण गरिनेछ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अङ्ग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने छ। 

गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकको मनोबल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने नीति गाउँपालिकाको रहेको छ।  

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्