Kathmandu Press

बुद्ध एयरद्वारा विराटनगर र भैरहवामा र्‍याम्पको प्रयोग

काठमाडौं, मंसिर १ : बुद्ध एयरले अपाङ्गता भएका तथा बिरामी यात्रुलाई लक्षित गरी नयाँ प्रविधिको र्‍याम्प (भर्‍याङ) र ह्वीलचियर प्रयाेगमा ल्याएकाे....

बुद्ध एयरद्वारा विराटनगर र भैरहवामा र्‍याम्पको प्रयोग
बुद्ध एयर

काठमाडौं, मंसिर १ : बुद्ध एयरले अपाङ्गता भएका तथा बिरामी यात्रुलाई लक्षित गरी नयाँ प्रविधिको र्‍याम्प (भर्‍याङ) र ह्वीलचियर प्रयाेगमा ल्याएकाे छ।

बुद्धले उडानका क्रममा यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै विराटनगर र भैरहवा विमानस्थलमा र्‍याम्प जडान गरेको जनाएको छ। सुरुआती चरणमा दुई विमानस्थलमा र्‍याम्प जडान गरिएको बुद्धका बजार व्यवस्थापक रुपेश जोशीले बताए। उनका अनुसार, बुद्धका उडान हुने अन्य विमानस्थलमा क्रमश र्‍याम्प जडान गरिनेछ।

बुद्ध एयरले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र्‍याम्प जडान गरि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा प्रयोग गर्ने तयारी गरेको थियो। तर, विमानस्थल साघुँरो हुँदा अन्य विमानस्थलमा जडान गर्नुपरेको जोशीले बताए।

‘काठमाडौंवाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान एउटै धावनमार्गवाट हुँदा साघुँरो भयो। त्यही कारणले हामीले अन्य विमानस्थलमा र्‍याम्प जडान गरेका हौं,’ उनले भने।’

एक महिनाको परीक्षणपछि केही दिनअघि मात्रै विराटनगर विमानस्थलमा जडान गरिएको हो। उडान तथा अवतरणमा विरामी यात्रुलाई सहजता दिन विदेशी प्रविधिको र्‍याम्प प्रयोग गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालमा उडान भर्ने विदेशी विमान कम्पनीहरूले यस्तो र्‍याम्पको प्रयोग गर्दै आएको भएपनि नेपाली वायुसेवा कम्पनीले प्रयोग गरेका थिएनन्।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको र्‍याम्प विदेशबाट ल्याउन बढी महँगो भएपछि आफ्नै स्रोत र साधनको परिचालन गरेर बनाएको बुद्धका बजार प्रबन्धक जोशीले बताए। यसको प्रयोगबाट ह्वीलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न मिल्ने खालको छ।

२२ वर्ष अघि उडान सुरू गरेको बुद्ध एयरसँग अहिले सात वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टसहित १२ वटा जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।

बुद्धले हाल काठमाडौंवाट भारतको वनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। आन्तरिक उडानतर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर, भद्रपुर उडान गरिरहेको छ। त्यस्तै पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ।

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, मंसिर १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्