Kathmandu Press

श्रमदान गरेरै मदनभण्डारी राजमार्ग मर्मत

श्रमदान गरेरै मदनभण्डारी राजमार्ग मर्मत

ताप्लेजुङ, असार २७ : ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा-साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ।

दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरेका हुन्।  

सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता रहेको  मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिए।

राजमार्गको गुफा–साँघु खण्ड जिर्ण थियो। वर्षायाममा यातायात सञ्चालन गर्न समस्या भएकाले श्रमदान गरी सडक मर्मत गरिएको उनले बताए।  

सडक जीर्ण हुँदा बेलाबेलामा यातायात अवरुद्ध हुने गरेको थियो। गाउँपालिकाले आवश्यक स्काभेटर, जेसिभी र ट्र्याक्टरका लागि इन्धनको व्यवस्था गरेको तामाङले बताए।

व्यवसायीले १७ ट्र्याक्टर निःशुल्क उपलब्ध गराएका थिए। ढुङ्गा र माटो मिलाउन मैवाखोलावासीले श्रमदान गरेका थिए। 

तिनजुरे, मिल्के, जलजले हुँदै कञ्चनजंघा तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने उक्त सडकको स्तरोन्नतिमा संघीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ।

सङ्घीय सरकार मातहत रहेको सडकखण्डमा गाउँपालिकाले बजेट विनियोजन गर्न नमिल्ने भएकाले श्रमदान गरेर यातायात सहज रुपमा सञ्चालन गरिएको तामाङले बताए।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, असार २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्