Kathmandu Press

हावाहुरी र वर्षाले मकैबालीमा क्षति

बैतडी, असार २६ : केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्‍याएको छ। जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका...
हावाहुरी र वर्षाले मकैबालीमा क्षति

बैतडी, असार २६ : केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्‍याएको छ। जिल्लाको सुर्नया, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो। घोगा लाग्ने बेलाको मकैबालीमा क्षति पुगेको किसानले बताएका छन्। दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याइएको स्थानीय हरिश जोशीले जानकारी दिए।
 
वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी नै हुने हो कि भन्ने चिन्तामा यहाँका किसान परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको किसानले बताएका छन्। नगरपालिकाका वडा नं १ र ७ मा हावाहुरीसहितको वर्षाले मकैबालीमा व्यापक क्षति पुर्‍याइएको स्थानीय जनक ऐरले बताए।

मकैबाली ढलेर नष्ट भएपछि आफूलाई निकै समस्या भएको सुर्नयाका स्थानीय किसान नरेन्द्र विष्टले बताए। वर्षा नहुँदासम्म कीराले मकैबालीमा क्षति पुर्‍याएको र वर्षापछि मकै ढलेर झन क्षति भएको छ। यसैबीच जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको छ।

बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ। मकैबालीमा फौजीकीरा, विभिन्न जङ्गली जनावर, विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। बैतडीमा १४ हजार ५०० हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ।

मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए। पछिल्लो दुई तीन वर्षयता मकैमा फौजी कीराले नोक्सानी पुर्‍याउने गरेको छ भने वर्षातको समयमा पनि क्षति हुनेगरेको छ। जङ्गली जनावरबाट मकै जोगाउन निकै मुस्किल भएको किसानले बताएका छन्।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, असार २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्