हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउछौँ : राज्यमन्त्री केसी
काठमाडौं, असार २६ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताएका छन्। रिपोर्टस् क्लब दाङले आज...
काठमाडौं, असार २६ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने आफ्नो दायित्व भएको बताएका छन्।
रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अझैसम्म पनि नागरिकले पाउने आधारभूत सेवा पनि सहज पाउन नसकेको भन्दै यसलाई सहज बनाउन पहल गर्ने बताए। यसका लागि तीनै तहका सरकारसँग छलफल गर्नेसमेत बताए।
राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवालाई थप विस्तार गर्ने समेत बताउनुभयो । उहाँले कोरोनाको समयमा योगदान गरेका कर्मचारीको नवीकरणमा पहल थाल्नेसमेत बताए। त्यसका लागि स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।
सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल बनाउने कुरा अघि सारेको अवस्थामा अझै पनि धेरै पालिकामा ती अस्पताल निर्माणको काम अघि बढ्न नसकेको भन्दै यसलाई पनि पूर्णता दिने उनले प्रतिबद्धता जनाए।
प्रादेशिक अस्पतालको अनुगमन
राज्यमन्त्री केसीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अवलोकनसमेत गरेका छन्। त्यस अवसरमा राप्ती प्रादेशिक अस्पताल प्रदेशस्तरीय भएकाले प्रदेशले त्यसलाई हेर्ने जिम्मा पाएको मन्त्री केसीले बताए।
‘अस्पतालको पनि जिम्मेवारी बाँडफाँट भएको छ, प्रतिष्ठान सङ्घीय सरकार मातहत हुन्छ, यो अस्पताल प्रदेश सरकार मातहत छ, प्रदेश सरकारले पनि अस्पतालका लागि धेरै काम गरेको छ,’ उनले भने, ‘सङ्घीय सरकारको तर्फबाट हामीले जे–जे गर्नुपर्छ, त्यसमा प्रतिबद्ध भएर लाग्ने छौँ।’
त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि सर्वेको काम अघि बढाउन पहल थालि दिनका लागि अनुरोध गरे। प्रादेशिक अस्पतालको आलोचना गर्ने गरिएको भन्दै यसलाई सुधार गर्न दक्षजनशक्ति आवश्यकपर्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताए। अस्पतालको छुट्टै आम्दानी नभएकाले पनि आफैले कर्मचारी थप गर्नसक्ने अवस्था नभएको उनको गुनासो थियो।
‘अस्पतालमा एमआरआई बाहेक भिडियो एक्सरे, सिटी स्क्यान, एक्सरेजस्ता ठूला सेवा सञ्चालनमा छन्, त्यसले गर्दा बिरामीको चाप बढिरहेको छ,' उनले भने, 'त्यो अनुसार अब जनशक्ति चाहिन्छ।’












