नेपालगञ्जमा बकर इदको रमझम
बाँके, असार २६ : इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगन्ज धुमधामका साथ मनाइएको छ। बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी...
बाँके, असार २६ : इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगन्ज धुमधामका साथ मनाइएको छ।
बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन्। इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए।
बकर इदको अवसरमा नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले सम्पूर्ण देशवासीमा बकर इदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन्।
बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुस्लिम धर्मावलम्बी पनि इदगाह पुगेका थिए। नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, पूर्वनगरप्रमुख डा धवलशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो।
तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने विशेषता छ। बकर इदमा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्षअनुसारको पशु बलि कुर्वानी दिने चलन छ।












