प्रदेश १ को नाम टुङ्गो लगाउन छलफल
विराटनगर, असार २५ : प्रदेश १ को नामकरणबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ।प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको...विराटनगर, असार २५ : प्रदेश १ को नामकरणबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठकमा चालु अधिवेशनबाट प्रदेशको नामकरण टुङ्गाउने विषयमा छलफल भएको छ। चालु अधिवेशनबाटै नामकरण टुंग्याउन सहमति बनेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईको उपस्थिति थियो।
प्रारम्भिक चरणको बैठक भएकाले आ–आफ्नो दलका तर्फबाट धारणा राख्ने काम भएको बताइएको छ। प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको उनले बताए।
दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा वैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको उनले बताए। आ–आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुने गरी अर्को बैठक बस्ने जनाइएको छ। (रासस)