उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडाैं, असार २३ : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन। उपराष्ट्रपति भवन, हरितगृहमा भएको...
काठमाडाैं, असार २३ : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन। उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए। दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए। उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताए। त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताए।
भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेकामा जोड दिए। नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए। उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको र नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए। उनले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताए।












