Kathmandu Press

बागलुङका किसानलाई रोपाइँको चटारो

बागलुङ, असार २३ : बागलुङमा असार तेस्रो सातासम्म ६० प्रतिशत रोपाइँ सकिएको छ।वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको...
बागलुङका किसानलाई रोपाइँको चटारो

बागलुङ, असार २३ : बागलुङमा असार तेस्रो सातासम्म ६० प्रतिशत रोपाइँ सकिएको छ।

वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। 'छ हजार हेक्टरमा धानखेती हुने गरेकामा अहिलेसम्म तीन हजार ६०० हेक्टरमा रोपाइँ भइसकेको छ,' केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, 'किसान रोपाइँको चटारोमा छन्, मनसुनले पनि साथ दिएको छ।'

मकैबाली लगाइने खेतमा भने रोपाइँ केही ढिलो हुने गरेको उहाँको भनाइ छ। सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ। जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवाफाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायतका ठाउँमा जेठमै रोपाइँ सकिएको थियो।

Hardik ivf

ती ठाउँमा बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासमा खेत भएका कारण रोपाइँ छिटो गरिएको हो। त्यस क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन्।

केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन्। रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ। मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन्।

यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ। जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसमध्ये १० हेक्टरमा मात्र चैतेधान लगाइन्छ।

'यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ,' उनले भने, 'उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ।' परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उनको भनाइ छ।

उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताए।

जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धानखेती हुँदै आएको छ। यहाँका किसानले स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ्रे छुन्दुङ, हिमाली, सावित्री, जेठोबुढो, सुक्खा–१, २, ३ लगायत उन्नत धानको खेती गर्दै आएका छन्।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, असार २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्