Kathmandu Press

गंगामाई रथयात्रा सम्पन्न

काठमाडाैं, असार २१ : आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ।पशुपति क्षेत्रमा जलकी...
गंगामाई रथयात्रा सम्पन्न

काठमाडाैं, असार २१ : आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ।

पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा छ। पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ।

असारमा गरिने यो जात्रापछि सहकाल हुने भएकाले प्राचीनकालदेखि यसलाई निरन्तरता दिइएको स्थानीय संस्कृतिविद् मुकुन्दराज वैद्यले बताए।

यो जात्रामा राज्यबाट हर्षबढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ। गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको हो।

पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो। गङ्गालाई स्वर्गबाट पृथ्वीमा उतारेको विश्वास गरिन्छ। पशुपति क्षेत्रमा यो जात्रा गरेपछि देशभर वर्षा भई खेतीपाती लगाउन सकिने मान्यतासमेत रहेको छ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइएको थियो।

रथयात्रामा स्थानीयवासीका साथै देशविदेशबाट आएको भक्तजनको सहभागिता थियो। गंगामाई रथयात्रा पशुपतिनाथको बज्रघरबाट सुरु गर्ने परम्परा रहेको कोष धार्मिक महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, असार २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्