Kathmandu Press

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न पहल
Hardik ivfHardik ivf

भक्तपुर, असार २२ : भक्तपुर दरबारस्क्वायरमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ।

विसं २०७२ को भूकम्पले क्षतिग्रष्ट उक्त भवन कुन शैलीमा पुनःनिर्माण गर्ने भन्ने विवादका कारण हालसम्म पुनःनिर्माण हुन सकेको छैन। पुरातत्व विभाग हालकै शैलीमा पुनःनिर्माण गर्न चाहन्छ भने भक्तपुर नगरपालिका यसको ऐतिहासिक प्रमाणका आधारमा मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्ने अडानमा छ। यसै सन्दर्भमा भक्तपुर नगरपालिकाले पुरातत्व विभागलाई लिखितरुपमै प्राप्त पुराना प्रमाणको आधारमा मल्लकालीन शैलीमा सिंहध्वाखा दरबार पुनःनिर्माण गर्न अनुरोध गरेको छ।

नगरप्रमुख सुनिल प्रजापतिले बुधवार पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई भेट गरी विश्व सम्पदा सूचीमा सूचीकृत पचपन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाखा दरबारको मल्लकालीन शैलीमा पुनःनिर्माण गर्न लिखित आग्रह गरेका हुन। उनले उक्त दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन आवश्यक भएको बताए।

महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न ‘युनेस्को’ प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताए। उनले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको औँल्याए।

सोही अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न फिर्ता पठाउन पनि आग्रह गरे। भक्तपुर नपाले यसअघि नै उक्त मूर्ति फिर्ता गर्न पत्र पठाई पहल गरेको थियो।

प्रकाशित मिति: १९:३७ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्